कोरोना कहर, गुम्दै रोजगार

-


     मर्दी न्युज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


सन थापा
जापान, साउन ३२ । गत मार्च महिनामा रोजगार (स्यूउस्योकु) भिसा प्राप्त गरेपछि रितेस (नाम परिवर्तन) फुरङ्ग थिए कि अब बिधार्थी भिसामा हुँदा गरेको संघर्षको अन्त्य र ढुक्कले काम मात्र गर्ने अभिलाषा सहित ।
तर उनको यो खुशी २/३ महिनाभन्दा धेरै टिक्न सकेन । यही विचमा कोरोना संक्रमण (कोभिड–१९) विश्वव्यापी रुपमा फैलियो र विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश जापान पनि यसबाट अछुतो रहन सकेन । ओसाकास्थित एक होटलका पूर्णकालीन कामदार रहेका उनले तीन महिना जति तलब सुविधा पाए । त्यसपछि होटल बन्द भयो र न दाम न काम बन्न पुगे ।

दुई वर्ष जापानिज भाषा स्कूल र चार वर्ष व्यवसायिक कलेज अध्ययनको क्रममा दिनरात, भोक,तिर्खा नभनी काम गरियो, कलेज फि वार्षिक छदेखि आठ लाखसम्म तिर्दा हैरान भयो उनी भन्छन्, भिसा परिवर्तन गरेपछि पढाई र फि तिर्ने तनावबाट मुक्त भएँ र ढुक्कले काम गरिन्छ भन्ने सोचेको थिए तर भएन ।

उनी जस्तै अर्को साथीको पीडा नि उस्तै छ, कोबेस्थित एक होटलमा रोजगार भिसा परिवर्तन गरेका दीपक (नाम परिर्वतन) को पनि । पाँच वर्ष विद्यार्थी जीवन व्यतित गरेका उनी रोजगार (स्यूउस्योकु) भिसा प्राप्त गरेपछि साथीभाईमा खुशीयाली साटे ।

स्यूउस्योकु पाएपछि साथीभाइलाई पार्टी दिएर खुशी साटे, उनी भन्छन् रोजगार गुमेपछि साथीकोमा शरण लिनु परेको छ ।

होटल बन्द भएपछि पीडित साथी सँगै अध्यागमन विभागमा जानकारी गरायौं र अध्यागमनले
आंशिक काम (आरुबाईतो) खोजेर गर्न भनेपछि अहिले काम खोज्दैछु । हातमा तीन वर्षको रोजगार भिसा छ तर बेरोजगार छु उनले पीडा मिश्रित स्वरमा भने ।

त्यस्तै चिबास्थित एक कम्पनीमा हालै रोजगार भिसा परिवर्तन गरेकी दिव्या९नाम परिवर्तन० पनि कम्पनी बन्द भएपछि कामको खोजीमा भौतारी रहेकी छन् । भइरहेको रोजगार पनि कोरोनाको कारण गुम्यो, यति महंगो शहरमा बाँच्न गाह्रो छ उनी भन्छिन् त्यसैले पार्ट(टाईम काम खोजिरहेको छु।

भिसा दियो, काम दिएन

नागासाकीमा दुई वर्ष जापानीज भाषा र एक व्यवसायिक कलेजमा तीन वर्ष कम्प्युटर कोर्ष पूरा गरेपछि एजेन्ट मार्फत् एक कम्पनीमा रोजगार भिसा प्राप्त गरेका अमिश थापा घर न घाटको जस्ता भएका छन् ।
एजेन्टलाई चार लाख येन तिरेर रोजगार भिसा त पाएँ तर अहिलेसम्म कम्पनीले बोलाएको छैन, उनले भने, भिसा हातमा छ तर काम गर्न नपाउदा तनावमा छु । ठूलो सपना बोकेर जापान आएँ, अहिले भविष्य नै अन्यौलमा पर्यो । उनको जस्तै पीडा व्यक्त गर्छन् फुकुओकाका किरण (नाम परिवर्तन) पनि । लामो समय विद्यार्थी जीवन कटाएर रोजगार भिसा प्राप्त गरे, तर चार महिना बितिसक्दा पनि कम्पनीले बोलाएको छैन, कम्पनीले केही निर्णय नगर्दा अरू काम पनि गर्न नपाइने उनको गुनासो थियो ।


आश्रित (डिपेन्डेन्ट) भिसाका कामदार पनि बेरोजगार
कानुनतः आश्रित (डिपेन्डेन्ट) भिसाका कामदारले हप्तामा २८ घन्टा काम गर्न पाउछन् तर कोरोना संक्रमणका कारण बेरोजगार हुनेहरुको संख्या बढ्दै गएको छ । क्योतोस्थित एक कम्पनीमा काम गर्ने आरती (परिवर्तित नाम) हप्तामा छ देखि काम गर्थिन् । १० जना नेपाली कार्यरत त्यहाँ अहिले हप्तामा पालैपालो एक/दुई दिन मुश्किलले काम हुने उनी बताउछिन् । त्यसैगरी हप्तामा दुई दिन पनि काम नचलेपछि जीवनयापन कठीन बनेको आश्रित भिसामा ओसाकामा रहेकी एक नेपालीले बताईन् ।
एक सर्वेक्षण अनुसार जापानमा कोरोना संकमणका कारण करीव ४० हजारको रोजगार गुमेको बताईएको छ।