
पोखरा, ३२ साउन । पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म ९ हजार २ सय २१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख १७ हजार ९ सय ७ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी आइतबारसम्म क्वारेन्टाइनमा १५ हजार २ सय ४३ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १३४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ३ सय ३५ रहेको प्रवक्ता डा गौतमले बताए ।
आइतबार संक्रमित हुनेमा २१८ महिला र ४२३ जना पुरुष गरी ६१४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा पर्सा र मोरङका पुरुष र महिला गरी २ जना कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

