पोखरामा एक साता ‘निषेधाज्ञा’ गर्न सुझाव

-


     मर्दी न्युज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


पोखरा, ३२ साउन । पोखरा महानगरमा दिनानुदिन कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि संक्रमण थप फैलन नदिन लकडाउनको तयारी थालिएको छ । पोखरा महानगरपालिकामा आइतबार बसेको सर्वदलीय बैठकमा जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिले एक साताका लागि निषेधाज्ञा गर्न सुझाएका छन् ।

राजनीतिक दलका प्रतिनिधहरुले दिएको सुझाव प्रति पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी पनि सहमत छन् । नेपालीहरुको चाडबाड नजिकिएसंगै मानिसहरुको भीड बढेकोले कोरोना संक्रमितको संख्या झन डरलाग्दो हुने जिसीले बताए । उनले आगामी दिनमा थप जोखिम हुन नदिन निषेधाज्ञा एकमात्रा विकल्प भएको बताए । आइतबारको बैठकमा नेकपा, कांग्रेस, राप्रपा लगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।

सोमवार नगरस्तरीय बैठकपछि मात्रै यसबारे निर्णय लिइने मेयर जिसीले बताए । मेयर जिसीका अनुसार पोखरा महानगरपालिकाका २० र २४ वडाबाहेक सबै वडामा संक्रमित देखिएका छन । पोखरा महानगरपालिकामा कुल ३३ वडा छन् ।

पोखरा महानगरपालिकामा आइतबारमात्रै २२ जनामा कोरोना संक्रमण देखा परेको छ ।