एक हप्ताका लागि पोखरामा निषेधाज्ञा

-


     मर्दी न्युज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


पोखरा, १ भदौ । पोखरामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गर्दा पोखरालाई एक हप्ता निषेधाज्ञा गर्ने निर्णय भएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले एक साता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

निषेधाज्ञा सोमबार राति १२ बजेबाट सुरु हुने र भदौ ८ गते रातिसम्म जारी रहने पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी । एक साताको स्थिति मध्यनजर गरेर बन्दाबन्दी थप्ने/नथप्ने भन्ने निर्णय गरिने उनले बताए ।

निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।

मूल समितिमा छलफल गर्नुअघि आइतबार राजनीतिक दलसँग महानगरपालिकाले छलफल गरेको थियो । उक्त बैठकमा सहभागीले संक्रमण तीव्र फैलिरहेकाले एक साता निषेधाज्ञा गर्न सुझाव दिएका थिए । आइतबारको बैठकमा नेकपा, कांग्रेस, राप्रपा लगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।

पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना संक्रमित भेटिएका थिए । लकडाउन खुलेयता पोखरामा कोरोना संक्रमितको दर निरन्तर उकालो लागिरहेको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा २०१ सक्रिय संक्रमित छन् । प्रदेशभर १७ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।