नेकपा अध्यक्षद्वयले बनाएको कार्यदल सचिवालयबाट अनुमोदन

-


     मर्दी न्युज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


काठमाडौँ, १ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको नेकपा सचिवालय बैठकले गत साउन ३० गते शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि शुक्रबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।

त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।