
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार बालुवाटारमा छलफल भएको छ । बिहान भएको भेटवार्तामा संवैधानिक निकायमा नियुक्तिबारे छलफल भएको छ ।
नेकपा सचिवालय बैठक सकिएलगत्तै सभापति देउवा बालुवाटार पुगेका थिए । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवा प्रधानमन्त्री ओलीको निमन्त्रणामा बालुवाटार गएको र संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेको जनाइएको छ ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सिन्धुपाल्चोक पहिरो, कोरोना महामारी र त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिबारे छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा कोरोना नियन्त्रणमा ध्यान दिन र बाढीपहिरोका कारण सिन्धुपाल्चोकसहित देशका विभिन्न भागमा धनजनको ठूलो क्षति भइरहेकाले पीडितलाई उचित राहत र समस्यामा परेकाहरूको पुनर्स्थापनाका लागि कदम चाल्न पनि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।