
फाइल तस्विर
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ। सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।
परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार केहीबेर अगाडि परीक्षाफल प्रकाशित गरिएको हो।
परीक्षा नियन्त्रण कार्यालका अनुसार २०७६ को एसईईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षा आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।
सोही विवरणलाई बोर्डले रुजुर ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो। नतिजा विगतमा जस्तै टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने छ।कोरोनाभाइरसको महामारी लामो समयसम्म गएपछि सरकारले जेठ अन्तिम साता विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
लामो समयसम्म विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएको निष्कर्षसहित सरकार यो निर्णयमा पुगेको थियो। शैक्षिक सत्र २०७६ को परीक्षा साविक बमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि रोग संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २०७६ साल चैत्र ५ गतेको निर्णयानुसार स्थागित रहेको थियो।
सरकारको निर्णयपछि राष्ट्रिय परीक्षा बोर्डले ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको थियो। विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख थियो।
यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको थियो। कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाइएको थियो।

