पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


पोखरा, २ भदौ । पोखरा महानगरपालिकाका ४ जनासहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगैँ गण्डकी प्रदेशमा १ हजार ७ सय ६४ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकामा ४ जना, नवलपुरको कावासोतीका २ जना र बागलुङ जिल्लाको बरेङका २ जनामा गरी ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

आज बिहान संक्रमण पुष्टि भएका २ जना पोखराको भने वडा खुलेको छैन । उनीहरु २५ र ५० वर्षीया महिला रहेका छन् । त्यस्तै वडा नम्बर ६ का २ जना २३ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए । त्यस्तै नवलपुर कावासोतीका १४ र ३७ वर्षीय महिला रहेका छन् भने बागलुङ बरेङका ६ वर्षीय बालकसहित २५ वर्षीया युवती रहेका छन् ।

यस्तै हिजो साँझ ९ बजे अध्यावधिक विवरणअनुसार पोखराका ११ जनासहित गण्डकी प्रदेशमा १७ जनामा कोरोना पुष्टि भएको थियो । केहीदिन यता गण्डकी प्रदेशमा कोरोना संक्रमण निरन्तर बढिरहेको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ५ सय ५० जनामा कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने ५ जनाको मृत्यु भएको छ ।



Tags: