आज रातिदेखि कास्कीमा निषेधाज्ञा

-


     मर्दी न्युज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


पोखरा, २ भदौ । पोखरामा दिनहुँ कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि कास्की जिल्लाभर मंगलबार रातिदेखि निषेधाज्ञा लागु गरिएको छ । कास्की जिल्ला संकट व्यवस्थापन समितिको मंगलवार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार आज राति १२ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधीका बाहेक अरु सबै पसल बन्द रहने छन् । त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, दमकल र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् । सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।

पोखरा महानगरपालिकाले सोमबार रातिबाटै कडा निषेधाज्ञा जारी गर्ने निर्णय निर्णय गरेको भए पनि जिल्ला प्रशासन कार्यालय कास्कीले एक दिन पछि सारेर मंगलबार रातिबाट जिल्लाभर नै गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ढकालले एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन २०३८ को दफा ६ (३) र संक्रामक रोक एने २०२० को व्यवस्था बमोजिम निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ । कोरोना महामारी रोक्न निषेधाज्ञा वा अरु कुनै औजार प्रयोग गर्ने अधिकार नेपाल सरकारले स्थानीय तहहरुलाई प्रत्यायोजन गरिएअनुसार लागू गरिएको हो ।