
पोखरा । कोरोना भाइसरको जोखिम बढेपछि पोखरासहित कास्की जिल्लामा आज मंगलबार राति १२ बजेदेखि जारी हुने निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार अपील जारी गर्दै संक्रमण समुदाय स्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसलाई रोक्न, कोरोनाको परीक्षण, कन्ट्रयाक्ट ट्रेसिंङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा नै जारी गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले यसको पूर्ण रुपमा पालना गरी सहयोग गर्न आम नगरबासीलाई अनुरोध गरेका हुन् ।
‘जनताको सबैभन्दा नजिकको सरकार पोखरा महानगरपालिकाले संक्रमणको सुरुका दिनदेखि नै कोरोना रोकथाम, नियन्त्रण र उपचारको कर्तव्य निर्वाह गर्न निरन्तर प्रयासरत रहेको व्यहोरा नगरबासीलाई विदितै छ,’ जिसीले जारी गरेको अपीलमा भनिएको छ,‘कोरोनाको संक्रमणलाई नियन्त्रण गरी नगरबासीलाई सुरक्षित राख्नु नै हाम्रो प्रमुख दायित्व हो ।’
‘विगत केही दिनदेखि कोभिड—१९ को परीक्षणको रिपोर्ट अनुसार पोखरामा जोखिम उच्च दरमा बढिरहेको अवस्थालाई मध्य नजर गर्दै यसबारे कास्कीका राजनीतिक दलहरुको सर्वदलीय बैठकले दिएको सुझाव, महानगरको कोरोना संक्रमण रोकथाम मुल समितिको निर्णय अनुसार भदौ २ गते मंगलवार राति १२ बजेदेखि भदौ ७ गतेसम्म पोखरासहित कास्की जिल्लामा निषेधाज्ञा जारी भएको जानकारी गराउँदछु ।’ अपीलमा भनिएको छ ।
कोरोनाको महामारीबाट जोगिन र जोगाउन राज्य र राज्यका निकाय मात्रैले सम्भव नभएको उल्लेख गर्दै अपिलमा निजी क्षेत्र, नागरिक समाज लागयत आम जनताको पनि सचेत र सक्रिय भूमिका आवश्यक भएको अपीलमा उल्लेख गरिएको छ । ‘संक्रमण समुदाय स्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसलाई रोक्न, कोरोनाको परीक्षण, कन्ट्रयाक्ट टे«सिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा नै जारी गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले यसको पूर्ण रुपमा पालना गरी सहयोग गरिदिन हुन आम नगरबासीलाई अनुरोध गर्दछु’ अपीलमा भनिएको छ, ‘यस क्रममा स्वास्थ्यकर्मीहरुलाई कन्ट्रयाक ट्रेसिंङ् र परीक्षणलाई तिव्रता दिन आवश्यक निर्देशन दिइएको छ ।’
कोरोनाबाट बच्ने प्रमुख औषधी भनेको सामाजिक भौतिक दूरी कार्यम गर्ने, भिडभाडमा नजाने, घरबाहिर ननिस्कने, तथा अत्यावश्यक कामले घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउने र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । ‘हाम्रो लापरवाही र हेलचक्रयाइले हामी सबैको स्वास्थ्य जोखिममा पर्नेप्रति सचेत हुन जरुरी छ,’ अपीलमा भनिएको छ, ‘आगामी दिनमा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आउन नदिन उच्च सतर्कता अपनाउन अनुरोध छ ।’



