
काठमाडौं । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने १ जना पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार उनी भिडिओका ’क्यामेराम्यान’ हुन । महाशाखाका प्रवक्ता ईश्वर कार्कीले नाम बताउन नचाहे पनि एक जना पक्राउ परेको बताए । यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।
सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो । त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ ।

झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको एउटा भिडियो र त्यससम्बन्धी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा मकवानपुरको बागमति गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ । ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको राष्ट्रिय झण्डालाई जलाएको देखाइएको छ ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको र गायकको खोजी तीव्र भइरहेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताए ।
मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ ।

