राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

-


     मर्दी न्युज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


काठमाडौं ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो। 

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् । 

नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा घिमिरेले कलम चलाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नरकिन्नरी (वि.सं. २०३३) जस्ता कविता सङ्ग्रह छन्। ‘गौरी’ उनको चर्चित खण्डकाव्य (शोककाव्य) हो।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’देखि ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखेँ सपना’जस्ता गीतहरुको घिमिरेले रचना गरेका थिए। उनका गीतहरुमा स्वरसम्राट् नारायणगोपालदेखि तारादेवी सम्मले स्वर दिएका छन्।

उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका थिए। घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।