राष्ट्रकवि घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

-


     मर्दी न्युज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ ।

उनको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ । अधिकृतको नेतृत्वको टुकडीले घिमिरेलाई सलामी दिने सेना जनाएको छ । घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । लमजुङको पुस्तन गाउँमा वि. सं. १९७६ असोज ७ गते उनको जन्म भएको हो ।

नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म घिमिरेको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् । घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।