
अछाम । मङ्गलवार रातिको वर्षाका कारण अछामको रामाराेशन गाउँपालिका वडा नम्बर ५ सैनीबजारमा रहेका करिब १२ घर बाढीले बगाउँदा १९ जना बेपत्ता भएका छन् । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् ।
बेपत्ता मध्ये छ जनाको सब फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए । उनका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका-३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।
अविरल वर्षाका कारण कैलाशखोलामा आएको बाढीले खोला किनारमा रहेको सैनीबजारका सम्पूर्ण घर तथा पसल बगाएको र घटना स्थलबाट करिब ३/४ किलोमिटर टाढा शव फेला परेका रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताए । घटनाबाट के-कति क्षति भयो भन्ने यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय तथा शान्तडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गैसकेकाे र जनप्रतिनिधि सहित खोजी तथा उद्धारको काम भइरहेको छ ।
बाढी तथा पहिरोले रामाराेशन गाउँपालिकाको केन्द्र रहेको मुजाबगर बजार, गाउँपालिकाको कार्यालयमा समेत पानी पसेर क्षति गरेको छ । गज्जडबजार, कैलाशखाेलामा रहेको शीला पक्की पुलकाे आधा भाग समेत बगाएको छ भने थुप्रै खेतहरू बगरमा परिणत भएको प्रहरीले जनाएको छ ।