
पोखरा, ३ भदौ । बुधवार साँझ पोखरा महानगरपालिका ७ का १६ जना र बागलुङका ८ जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ७ का १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमितहरु २३ वर्षदेखि ४७ वर्षका पुरुषहरु रहेका छन् ।
संक्रमित सबै मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका प्रहरी भएको महानगरस्रोतले बतायो । उनीहरु स्याङ्जाबाट ५ दिन पहिले पोखरा फर्किएका हुन् । स्याङ्जा सिल भएपछि कास्कीबाट गएको प्रहरीमा कोरोना संक्रमण देखिएको महानगर स्रोतले बताए ।
यसैगरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका ३ का ६ जना, जैमिनी ८ का १ जना र बडिगाडका वडा नखुलेको १ जना गरी ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १२ जना पुगेको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ५ सय ५० जनामा कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ ।
