
पोखरा, भदौ ३ गते । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको छ ।
भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेसँगै प्रेस काउन्सिल वोर्डले आइतबार सर्वोच्च अदालतमा हालेको रीटको सुनुवाई गर्दै सर्वोच्चले सरकारलाई अन्तरिक आदेश दिएको हो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न पनि सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।
अदालतको आदेशसँगै कार्यबहाक अध्यक्ष नियुक्ति गरिएको दुर्गा भण्डारी पौडेल कुर्सीमा नबस्दै हट्नु परेको छ । गत सोमबार मात्रै मन्त्रिपरिषद्को बैठकले कार्यबहाक अध्यक्षको पद सम्हाल्दै आएका श्रेष्ठको खोस्दै भण्डारीलाई जिम्मेवारी तोकेको थियो ।
सरकारले ४० दिन कार्यकाल बाँकी रहेकै बेला श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट हटाएर पोखराकी भण्डारीलाई ल्याएपछि सो मुद्दा सर्वोच्चमा पुगेको हो ।
२०७४ सालमा बोर्णबहादुर कार्कीको कार्यकाल सकिएपछि भवानी बराल अध्यक्ष नियुक्त भएका थिए । उनको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि सर्वोच्चको अन्तरिम आदेशमा उनी ‘निलम्बित’ भएका थिए । त्यसपछि काउन्सिल बोर्डले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

