
पोखरा । सडक दुर्घटनामा ज्यान गुमाएका २ प्रहरीलाई शोक सलामी अर्पण गरिएको छ । प्रहरी हवल्दार डम्बरबहादुर थारु र प्रहरी जवान चन्द्रबहादुर बगालेको पार्थिव शरीरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा गण्डकी प्रदेश प्रहरी प्रमुख तथा डिआइजी घनश्याम अर्यालको उपस्थितिमा शोक सलामी सहित श्रद्धान्जली व्यक्त गरिएको हो ।

वडा प्रहरी कार्यालय बैदाममा कार्यरत उनीहरुलाई पोखरा ५ मालेपाटनमा बोलेरो जिपले ठक्कर दिँदा बुधबार ज्यान गएको थियो ।
उनीहरुको शवमाथि डिआइजी अर्यालले प्रहरी संगठनको झन्डा ओढाई पुष्पगुच्छासहित श्रद्धान्जली अर्पण गरे । सोही अवसरमा प्रहरीको १ टुकुडीले शोक सलामी दिइयो ।
सलामी तथा श्रद्धाञ्जली अपर्ण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले इमान्दार र कर्तव्यनिष्ट प्रहरी जवानलाई गुमाउनुको पीडा जीवनभरी रहने बताए । थारु र बगालेको निधनले प्रहरी संगठनमा ठूलो क्षति भएको उनको भनाई थियो । अर्यालले दुर्घटनामा ज्यान गुमाएका दुवै प्रहरीको पार्थिव शरीरमा नेपाल प्रहरी संगठनको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा अर्पण गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
