
पोखरा, ५ भदौ । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण पोखरा आज (शुक्रवार) तेस्रो दिन पनि बिहानैदेखि सुनसान देखिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पोखराका शिवालयहरुमा पनि भिड हुन्थ्यो । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहानैदेखि शिवालय मन्दिरहरुमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे ।
त्यस्तै काठमाडौं पशुपतिमा तिजका लाखौँ बर्तालुको भिड हुन्थ्यो । यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्रलगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजाबाहेक सबै गतिविधि बन्द गरिएको छ ।

कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि कास्की जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका लागि निषेधाज्ञा लागू गरेको हो । मंगलवार राति १२ बजदेखि लागू भएको यो निषेधाज्ञा ७ भदौसम्म जारी रहने छ ।
स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण शुक्रवार बिहानैदेखि पोखरामा मानिसहरुको आवत जावत न्युन छ । मुख्य सडकका चोक तथा भित्री बाटोमा समेत प्रहरीको संख्या बढाइएको छ । सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन ।

तीज मनाउन विभिन्न गन्तव्यतर्फ जाँदै गरेका सवारी साधन तथा यात्रुलाई समेत नियन्त्रणमा लिई फिर्ता पठाएको छ । चेकिङमा कडाई हुँदा मानिसको आवतजावत समेत कम देखिन्छ ।
स्थानीय प्रशासनले नै बिहान आठ बजेसम्म तरकारी, दुग्धजन्य तथा किराना पसल खोल्न दिएको छ । जिल्लाका स्थानीय प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन अपिल गरेका छन । मर्निङ वाकमा समेत ननिस्कन अपिल गरिएको छ ।
तस्विरमा हेनुहोस् आज तेस्रो दिन पोखराको निषेधाज्ञा । तस्विरः खेम गुरुङ











