माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोरोना

-


     मर्दी न्युज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित


काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका ८ जना रहेका छन् ।  बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासका २४ जनाभन्दा बढीको स्वाब संकलन गरी पठाइएको स्वकीय सचिव गौतमले बताए ।

गत बिहीबार नेपालसहित सबैको स्वाब संकलन गरिएको थियो । गौतमका अनुसार नेता नेपालसहित उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि सबै सुरक्षाकर्मी आइसोलेसनमा बसेको पनि गौतमले जानकारी दिए ।