पोखरामा ट्याक्सी चालकलाई कोरोना संक्रमण, प्रदेशमा संक्रमितको संख्या १८७९ पुग्यो

-


     मर्दी न्युज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित


पोखरा, ७ भदौ । पोखरा महानगरपालिकामा आज आइतबार दिउँसो थप २ जना कोरोना संक्रमण पुष्टि भएका छन् । आज बिहान मात्रै महानगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखराका २ जनासहित गण्डकी प्रदेशमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

दिउँसो पुष्टि भएका पोखरा महानगरका संक्रमितहरु वडा नंं १६ का रहेका छन् । संक्रमितहरु ३१ वर्षीया महिला र ४० वर्षीय पुरुष रहेका छन् । ४० वर्षीय पुरुष ट्याक्सी चालक भएको र कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ ।


यसैगरी कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएका नवलपुर विनयत्रिवेणी १ का ६ जना रहेका छन् । संक्रमितहरु ९ वर्षीय बालकसहित ४३ र ६५ वर्षका पुरुष र २८, ३६ र ३९ वर्षीया महिला गरी ६ जना रहेको निर्देशक डा. शर्माले जानकारी दिए ।


यस्तै गोरखा जिल्लाको गोरखा नगरपालिका ६ का ८ वर्षीय पुरुष रहेको उनले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७९ पुगेको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको भई घर फर्किनेको कुल संख्या १६११ रहेको निर्देशनालयले जनाएको ।



Tags: