कास्कीमा जारी निषेधाज्ञा पाँच दिन थपियो

-


     मर्दी न्युज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित


पोखरा, ७ भदौ । कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा १२ भदौको मध्यरातसम्म थप्ने निर्णय गरेको हो ।

पोखरा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भदौ ३ गते बुधवारदेखि निषेधाज्ञा पाँच दिन जारी गरिएको आज अन्तिम दिनमा पुनः पाँच दिन थप गरेको हो । संक्रमितको संख्या बढिरहेकाले हालको बन्दाबन्दीलाई कायम राख्दा उचित हुने बैठकले निष्कर्ष निकाल्दै बन्दाबन्दीको मोडालिटी भने केही परिवर्तन गरेको छ ।

अबको निषेधाज्ञाा भने सरकारले तोकेको मापदण्ड पूरा गरी बैंक तथा वित्तिय संस्थाका केही शाखा र निमार्ण सामग्रीका पसल तथा उद्योगहरु सञ्चालन खुकुलो बनाइने निर्णय भएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित आज बिहान सिसिएमसीमा सिफारिस गरेको थियो ।

समुदायमा कोरोना संक्रमित भेटिन थालेको र चाडपर्वमा हुने भीडभाडले जोखिम बढ्ने निष्कर्षसहित महानगरको मूल समितिको यसअघि १ भदौमा बसेको बैठकले सोही दिन मध्यरातबाटै निषेधाज्ञा लगाउने जनाएको थियो । तर जिल्ला सिसिएमसीको बैठक २ भदौमा बसेकोले ७ भदौको मध्यरातसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

निषेधाज्ञा जारी भएपछि जिल्लाभर हिँड्डुलमा कडाइ गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् ।