
बेनी । गत साउन ५ गतेको अविरल वर्षा पछि पूर्ण रुपमा सम्बन्ध विच्छेद भएको हिमालपारीको जिल्ला मुस्ताङ सँग आज दिउँसोबाट सडक सञ्जाल पुनः जेडिएको छ । म्याग्दी र मुस्ताङको सीमानाको काभ्रे भिरको सडक मर्मत गरे सँगै ३४ दिनपछि एकतर्फी यातायाता सञ्चालनमा आएको हो ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना अन्तर्गत बेनी—जोमसोम जोड्ने सडक अन्तर्गत म्याग्दीको भूरुङ तातोपानीदेखि मुस्ताङको कोबाङसम्म ३० भन्दा बढी स्थानमा पहिरोले क्षति पुगेको थियो भने १० स्थानमा बेस सहितै सडक बगेको थियो ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ तातोपानी देखि थासाङ गाउँपालिका–४ कैकु प्याकेज नम्बर २ र थासाङ गाउँपालिकाको–४ कैकु देखि थासाङ गाउँपालिका–२ कोबाङ सम्म प्याकेज नम्बर ३ सम्मको सडकको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेका अनुसार दिउँसो १२ बजेबाट सवारी सञ्चालनमा आएको हो ।
मुस्ताङ जोड्ने बेनी—जोमसोम सडकको सबैभन्दा जोखिम र अप्ठ्यारो सडकको रुपमा काभ्रेभीर सडक मानिएको छ । ठूला र कडा चट्टाने पहरा फोरेर विस्तार भएको उक्त स्थानमा बर्सेनि पहिरोले सडक अवरुद्ध हुँदै आइरहेको छ ।
कालिगण्डकी करिडोरले अन्य स्थानमा सडकको एकतर्फी सडक खुला गरे पनि काभ्रेभीरको सडक खोल्न एकसाता अघि पहल गरेको थियो । बेनी—जोमसोम सडकको सिधा यातायात सञ्चालन गर्न म्याग्दीको रुप्सेमा करिब २ सय मिटर सडक डाइभर्सन निर्माण गरी एकतर्फी सडक सूचारु गरेको प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले बताए ।
कतिपय स्थानमा सडकको करिब २५ मिटर तलबाट वैकल्पिक सडक निर्माण भएको उनले जानकारी दिए । यस्तै घोप्टे ओढार र म्याग्दीको दानमा सबबेस निर्माण गरी यातायात सञ्चालन योग्य बनाइएको छ । म्याग्दीको रघुगंगा गापाको गलेश्वरको क्षतिग्रस्त बेलिब्रिज २ साता अघि सञ्चालनमा ल्याएको थियो ।
पछिल्लो सयम बेनी—जोमसोम जोड्ने एकमात्र अवरुद्ध काभ्रेभीर सडकको निर्माण कम्पनी, सांसद, सुरक्षा निकाय र जनप्रतिनिधिले निकै जोखिम मोलेर सडक आउजाउ सहज बनाएको मुस्ताङका प्रदेश सभा सांसद चन्द्रमोहन गौचनले बताए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार मुस्ताङ प्रवेश गर्ने अहिलेको एक मात्र रहेको बेनी–जोमसोम सडक अबरुद्ध हुँदा जनतालाई सास्ती भएकोले सबैको चासो र खटाइले छिट्टै सडक सञ्चालनमा आएको हो । प्रजिअ पौडेलले भने – ‘काभ्रे भिरमा ५० मिटर सडक बिष्फोटक पदार्थको प्रयोग गरेर पुरै नयाँ तयार भएपछि आजबाट सडक खुलेको हो ।’
मुस्ताङमा उत्पादन हुने स्याउ, आलु, रायो, गाजरलगायतका फलफुल एवम् ताजा तरकारी उत्पादन हुने मुस्ताङमा गत साउन ५ गते देखि पूर्ण रुपमा आवतजावत बन्द हुँदै मुस्ताङीहरु नाकाबन्दीको अवस्थामा जस्तै थिए ।