
पोखरा, ८ भदौ । गण्डकी प्रदेशमा पोखरा महानगरपालिका २९ का एक जना र नवलपुर गैंडाकोट नगरपालिकाका एक जना गरी सोमवार दिउँसो २ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा २९ का २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत गरिएको परीक्षणमा नवलपरासी (ब.सु.पू.) जिल्लाको गैंडाकोट नगरपालिका १२ का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा (आज थपिएको १ मृत्यु सहित) कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९१ पुगेको छ । गैंडाकोट नगरपालिकाका संक्रमित नवलपरासी (ब.सु.पू.) बाट ट्रकमा सामग्री लिएर सुर्खेत जादाँ बबई चेकपोष्टमा नमुना संकलन गर्दा उनमा कोरोना पुष्टि भएको हो ।
पोखरा महानगरका संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ भने नवलपरासी (ब.सु.पू) का संक्रमित व्यक्तिलाई सोहि जिल्लाको आईसोलेसन केन्द्रमा राखिसकिएको निर्देशनालयले जनाएको छ ।
यस्तै गत असार १७ गते काठमाडौंमा उपचारको क्रममा कोरोनको संक्रमणका कारण मृत्यु भएका म्याग्दी जिल्ला, धौलागिरी गाउँपालिका, वार्ड ४ का ४७ दिनका नाबालकको मृत्यु समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राप्त प्रतिबेदनका आधारमा गण्डकी प्रदेशको तथ्यांकमा समाबेश गरिएको निर्देशक शर्माले जनाए । यससंगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोन संक्रमण भई उपचारपछि निको हुनेको संख्या १६१९ पुगेको निर्देशनालयले जनाएको छ ।