प्रतिवेदनबारे छलफल गर्न भदौ १३ गते नेकपा सचिवालय बैठक

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार बिहान भएको छलफल पछि भदौ १३ गतेका लागि बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार सचिवालय बैठकको एजेण्डा कार्यदलको प्रतिवेदन रहको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको छलफलले कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ ।

अध्यक्षद्वयले साउन ३० गते कार्यदल बनाएपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको असन्तुष्टि थियो ।
त्यसपछि कार्यदल अनुमोदन गर्न भदौ १ मा सचिवालय बैठक बसेको थियो भने कार्यदल प्रतिवेदन सचिवालयमा छलफल गर्ने सहमतिपछि बैठकबाट कार्यदल अनुमोदन भएको थियो ।

महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो । कार्यदलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सरकारको बाँकी कार्यकाल पुरै नेतृत्व गर्ने र अर्का अध्यक्ष प्रचण्डले महाधिवेशनसम्म पार्टीको कार्यकारी अध्यक्षको हैसियतमा काम गर्ने गरी अध्यक्षद्वयबीच सहमतिका लागि सुझाव दिएको छ ।