जुम्लाको ढाँणखर्क पाटनमा चट्याङले पाँच सय बढी भेडा मरे

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

नेत्र शाही

जुम्ला, ९ भदौ । जुम्लामा चट्याङले पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका वडा नम्बर ४ मा जाजुल्ले सामुदायिक वनमा रहेको ढाँण खर्क सामुदायिक वनमा चट्याङले पाँच सय बढी भेडा मरेका भेटेरीनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिए ।

उनका अनुसार सो क्षेत्रमा भेडा मरेको जानकारी भएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार गाउँपालिका पशु तथा भेटरीनरी शाखाका प्राविधिक हरि कामीसहितको टोली घटनास्थलमा गएको छ । त्यहाँबाट आएको फोनको आधारमा पाँच सय बढी भेडा मरेको जानकारी भएपनि विस्तृत विवरण आउन बाँकी रहेको बताए । विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पठाइने भेटेरीनरी कार्यालयले जनाएको छ ।

बेलुकीसम्म विस्तृत विवरण आउने स्थानीय तहले जानकारी दिएको छ । धेरै भेडा एकै पटक मरेको घटना किसानका लागि निकै ठूलो क्षति भएकाले हामी सरोकारवाला निकायहरूले क्षतिपूर्तिका लागि पहल गरिने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिए । यसैगरी गत वर्ष तिला गाउँपालिका वडा नं ६ को सुडिका किसानका समेत २५० भेडा चट्याङले मरेका थिए ।

– गोरखापत्र अनलाइन