कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव लगिएको छैनः ऊर्जामन्त्री

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित


काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् । केही अनलाइन सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताएको हो ।

नभएको नियुक्तिका लागि कुलमानलाई बधाई
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ मा सकिँदैछ। उनको पदावधि सकिनै लाग्दा उनलाई फेरि सोही पदमा दोहोर्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार साँझ एक अनलाइनले उनलाई मन्त्रिपरिषदले सोही पदमा निरन्तरता दिएको खबर आयो।

नियुक्तिको खबर आएसँगै उनलाई बधाइको आइरो लागेको छ। त्यसलगत्तै समाजिक सञ्जालहरुमा कुलमानले बधार्इ पाइरहेका छन् । तर, जतिबेला उनको पुनः नियुक्तिको समाचार प्रकाशित भयो त्यतिबेला मन्त्रिपरिषदको बैठक भर्खर बस्न शुरु भएको थियो । समाचार प्रकाशित भएको करिब २० मिनेटपछि मात्र बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए । कुलमानको नियुक्तिको समाचार कुलमान घिसिङ नामको फेक ट्वीटरले पनि मद्दत पुर्यायो ।

दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोगिरहेको नेपालीलाई उनले लोडसेडिङबाट मुक्त गरिदिएपछि उनको लोकप्रियता बढेको छ । त्यसैले पनि उनलाई पुनः कार्यकारी निर्देशक बनाउनुपर्ने आवाज जनस्तरबाट उठिरहेको छ।