महामारीकाबीच पर्यटन मन्त्रालयको प्रगति झण्डै ६० प्रतिशत

-


     मर्दी न्युज    
     भाद्र १० गते २०७७ मा प्रकाशित


काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड–१९ महामारीका कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारेका छन् ।

संस्कृति, पर्यटन र उड्डयन हेर्ने मन्त्रालयको एक आर्थिक वर्षमा भए/गरेका गतिविघि समेटेर तयार पारिएको ‘वार्षिक प्रगति पुस्तिका’ सार्वजनिक गर्दै मंगलबार पर्यटन मन्त्री भट्टराईले भर्खरै सकिएको आर्थिक वर्ष ०७६/७७ मा प्राप्त २१ अर्ब रुपैयाँ बजेटको झन्डै ५९ प्रतिशत मात्रै खर्च गरेर चित्त बुझाउनु परेको बताए ।

यद्यपि मन्त्रालयले आव २०७६/०७७ संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा केही महत्वपूर्ण कार्य गरेको उल्लेख छ । वार्षिक प्रगति पुस्तिकामा नीतिगत सुधार र सुशासन प्रवद्र्धनमा गहन कार्य भएको उल्लेख छन् । अन्तरनिकायसँग समन्वय, संस्कृति संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय पूर्वाधार निर्माण, सम्पदा पुर्ननिर्माणको काम भएकोले पनि सम्पूर्ण काम शतप्रतिशत सम्पन्न हुन नसकेको उनले बताए ।

सञ्चारकर्मीहरुसँग वेभिनार (जुम मिटिङ) मार्फत वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले सबैभन्दा बढी पूँजिगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए ।

‘कोभिड–१९ महामारीका कारण पुस÷माघ महिनादेखि असार÷साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमो यो वर्ष मन्त्रालयको पूँजिगत खर्च ६४ प्रतिशत र वित्तिय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ । चालु खर्चमा ८० प्रतिशत प्रगति भएको छ ।’

मन्त्रालयले नीतिगततर्फ हवाई सेवा प्राधिकरण विधेयक, २०७७ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ संघीय संसदमा पेश भई छलफलको क्रममा रहेको छ । हवाई नीतिको मस्यौदा बनेको छ ।

पुस्तकमा उनले लगानी बोर्डले लगानीको ढाँचा निर्माणमा ढिलाई गरिदिनाले निगजढमा वित्तीय प्रगति हुन नसकेको जनाएका छन् । उनले सानदार बनाउने सपना देखेको निजगढ सरकारी निकायकै ढिलासुस्तीले प्रभावित भएको बताएको हो । यदि लगानी बोर्डले ढिलाई नगरेको भए आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालयले प्राप्त गरेको बजेटको ८० प्रतिशत खर्च भइसक्ने उनको दाबी छ ।

मन्त्री भट्टराइले पर्यटन मन्त्रालय सम्हाले लगत्तै पहिलो दिनको पहिलो मन्तव्यमा नेपाल वायुसेवा निगमलाई ‘वाउ ! नेपाल एयरलायन्स बनाउँछु’ भनि बाचा गरे पनि त्यो हुन सकेको छैन । राष्ट्रिय ध्वजाबहाक वायुसेवा उनी आएको एक वर्षमै थप ५ अर्ब ऋणमा फसेको छ । उनी आउँदा निगमको ऋण ४० अर्बमा थियो । कार्यक्रममा मन्त्री भट्टराईले नै निगमको ऋण ४५ अर्ब पुगेको सुनाए ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कुल सम्पत्ति ५४ अर्ब १७ करोड रहेको छ । रु ४५ अर्ब ९४ करोड ऋण रहेको छ । निगमको खुद सम्पत्ति रु आठ अर्ब २३ करोड रहेको छ ।