
पोखरा, १० भदौ । गण्डकी प्रदेशका ३ जिल्लामा बुधवार बिहान २३ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार लमजुङमा २०, कास्कीमा २ र नवलपरासी (ब.सु.पू.)मा थप १ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङका २० जना मध्ये १७ जना नेपाली सेनामा कार्यरतहरु हुन् । त्यस्तै बेसीशहर नगरपालिका ८ का ३२ वर्षीय पुरुष ग्लोबल आईएमई बैंकका कर्मचारी रहेको निर्देशनालयले जनाएको छ ।
यसैगरी पोखरा महानगरपालिका ११ का ४६ वर्षीय पुरुष साई अर्चना अस्पतालका कर्मचारी भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । अर्का कास्कीको मादी गाउँपालिका ७ का ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसैगरी नवलपरासी (ब.सु.पू.) गैंडाकोट १ का ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । अन्य संक्रमितहरु कन्ट्याक ट्रेसिङमा पहिचान भएकाहरु भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशभरमा एक हजार ९ सय ३६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १६४३ (८४.८६ प्रतिशत) रहेको निर्देशनालयले जनाएको छ ।
