
पोखरा । गण्डकी प्रदेशमा तीन जिल्लाका गरी थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा लमजुङका ८, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गोरखाका २ र चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा नवलपुरका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
लमजुङका ८ जना संक्रमित हुनेहरुमध्येमा ३ जना पुरुष जिल्लाको बेसीसहर नगरपालिकामा कार्यरत सुरक्षाकर्मी रहेको निर्देशक शर्माले जानकारी दिए ।
त्यस्तै नगरपालिका वडा नम्बर ७ का २०, २५ र ३२ वर्षीय ३ जना महिला रहेका छन् । संक्रमितमध्ये ३२ वर्षीय महिला जिआइबिएल बैंकमा कार्यरत रहेकी छिन् । त्यस्तै २० वर्षीय महिला अस्पताल कर्मचारी हुन् भने नगरपालिकाको वडा नम्बर ८ का २७ वर्षीय महिला सहित वडा नम्बर ३ का ३२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यस्तै गोरखाका संक्रमित २ जना गोरखा नगरपालिका वडा नम्बर १२ का ४६ तथा १३ का ४० वर्षीय पुरुष रहेका छन् ।
यस्तै नवलपरासी ब.सु.पू.को देवचुली १० का ३७ वर्षीय महिला, मध्यविन्दु १० का ३४ वर्षीय पुरुष र गैंडाकोट ५ का २८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार १ सय ५७ पुगेको छ ।