
पोखरा, १७ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बुधवार संक्रमित हुनेहरुमा ३२० जना महिला र ८ सय जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा ७ हजार ६ सय १५ सय जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १८ हजार १ सय ८ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ७ लाख १८ हजार ४३९ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा ६ हजार ७ सय ६६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय १२ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या २३ हजार २ सय ९० रहेको प्रवक्ता डा गौतमले बताए ।

