
सन थापा, जापान ।
सेप्टेम्बर २ । प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्य समस्याका कारण १ वर्ष कार्यकाल बाॅकी रहदै अगष्ट २८ गते पदबाट राजीनामा दिएपछि तीन जनाले दाबेदारी प्रस्तुत गरेका छन्।
सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) अध्यक्ष चयनसँगै जापानको नयाँ प्रधानमन्त्री नियुक्त हुनेछ ।
एलडीपीले अध्यक्षको निर्वाचनका लागि यही सेप्टेम्बर १४ गते मिति तोकेको छ । उक्त निर्वाचनमा डाइट सदस्यहरू ३ सय ९४ र ४७ प्रान्तका १ सय ४१ गरी ५ सय ३५ जनाले मतदान गर्नेछन् ।
वर्तमान मन्त्रीपरिषदका मुख्य सचिव तथा प्रवक्ता योशिहिदे सुगाले बुधबार अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । आवेको प्रमुख उत्तराधिकारीको रुपमा हेरिएको ७१ वर्षीय सुगालाई सत्तारूढ दलको ठूलो गुटको समर्थन रहेको बताइन्छ ।
सत्तारुढ दलको नीति, अनुसन्धान प्रमुख तथा पूर्व विदेशमन्त्री फुमियो किसिदाले मंगलबार अध्यक्षको उम्मेदवारी घोषणा गरे । विदेशमन्त्री रहेको बेला उनको पहलमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई दोस्रो विश्वयुद्धमा ध्वस्त भएको शहर हिरोसिमामा ल्याउन सफल भएका थिए । ६३ वर्षीय किसिदालाई प्रबल दाबेदारको रुपमा हेरिएको छ।
त्यसैगरी पूर्व रक्षामन्त्री तथा एलडीपीका पूर्वमहासचिव शिगेरू इशिबाले पनि मंगलबार उम्मेदवारी घोषणा गरे । प्रखरवक्ता ६३ वर्षीय इशिबा मतदातामाझ लोक भए तापनि सन् २०१८ मा सरकारको नेतृत्वको चुनावमा प्रधानमन्त्री आवेद्वारा पराजित भएका थिए ।
त्यसो त पूर्व आन्तरिक मामला तथा सञ्चारमन्त्री सेईको नोदा,वातावरण मन्त्री कोईजुमी सिन्जिरो, उपप्रधान तथा वित्तमन्त्री कोनो तारो लगायतले पनि दाबेदारीको आकांक्षा राखेको चर्चा चले पनि उम्मेदवारी भने दिएका छैनन् ।