
फाइल तस्बिर
बागलुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा ४ जनाको शव फेला पारेको छ भने कम्तीमा १३ जना बेपत्ता भएका छन्।
पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३० वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा अन्दाजी ३५ वर्षका पुरूषको शव फेला पारेको छ भने त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०÷२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२÷१३ का बालकको शव फेला परेको प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । शवको सनाखत हुन सकेको छैन ।
भुजीखोलाको मुहानबाट झरेको पहिरोले वडा नं. ९ र ८ को पहिरोमा परेर ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन, उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर बेपत्ता छन् । त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर, उनको छोरा नाम नखुलेको ६ वर्षीया बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

