प्रदेश सरकारले ढोरपाटन बाढी पीडितलाई ५० हजारका दरले राहत उपलब्ध

-


     मर्दी न्युज    
     भाद्र २० गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाएका प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

शनिवार ढोरपाटन नगरपालिका–९ भुजीखोलाको बाढीपहिरो प्रभावित क्षेत्रमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानका साथ पुगेका मुख्यमन्त्री गुरुङले पीडितहरुलाई भेटेर प्रदेश सरकारले सहयोग गर्ने बताए । बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि तत्काल १ लाख रुपैयाँ सहयोग गर्ने उनले बताए । यसमा पालिका र संघको पनि सहयोग हुने बताए ।

बाढीपहिरोका कारण आफन्त गुमाएका र घरबारविहिन भएकाहरुलाई टेन्ट, मेट्रेस, भाँडाकुँडा, प्राथमिक उपचारका सामग्री, लगायत राहत सामग्री आज वितरण गरेका छन् ।

स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रतिपरिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले समेत थपेर सहयोग गर्ने मुख्यमन्त्री गुरुङले बताए ।

‘बाढी प्रभावितहरुको पक्की र भूकम्प प्रतिरोधी आवास बन्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता हामी साकार पार्नेछौं ।’ गुरुङले भने, भुजीखोलाको किनार आफैंमा जोखिमपूर्ण ठाउँ थियो र यो विपत्ति हामीमाथि आइप¥यो । अब बाढी विस्थापितहरुलाई सुरक्षित स्थानमा एकीकृत बस्ती बनाएर राख्नुपर्छ । यो कामका लागि प्रदेश सरकारले काम सुरु गर्न बिलम्व गर्ने छैन ।’



Tags: