
पोखरा, २४ भदौ । पोखरामा बुधवार थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधवार प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ७ बजे जारी गरेको विज्ञप्ति अनुसार पोखरा महानगरपालिकामा ९ सहित प्रदेशमा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका ६ का २ जना, ७ का १ जना, १४ का २ जना, १३ का १, १७ का १ ८ का १ र वडा नखुलेको १ गरी ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनादविन्दु शर्माले जानकारी दिए । पोखराका संक्रमितमध्ये २ महिला तथा ७ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका–१३ का ३८ वर्षीया महिला साउदी अरबबाट, पोखरा १७ का र वडा नखुलेका २२ र २४ वर्षका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेको व्यक्ति भएको र अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान पहिचान भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी संक्रमित हुनेहरुमा बागलुङ तमानखोलाका १ जना २५ वर्षीय युवक रहेका छन् ।
यस्तै चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा नवलपरासी (ब.सु.पू.) गैंडाकोटका ५४ वर्षीय पुरुष रहेका छन ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ ।
यसैगरी नवलपुर देवचुलीका ६४ वर्षीय पुरुषको हिजो मंगलवार साँझ ५ः३० बजे कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृतक ती पुरुषको १९ गते श्वासप्रश्वासमा समस्या भई उपचारको लागि भरतपुर अस्पतालमा भर्ना गरिएकोमा सोही दिन कोरोना पुष्टि भएको थियो । मिर्गौलाका बिरामी तथा निमोनिया भई उनको मृत्यु भएको अस्पताल स्रोतले बताएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।


