
पोखरा, २४ भदौ । प्रदेश स्वस्थ्य निर्देशनालयको पछिल्लो पटक अध्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका थप २ जनासहित गण्डकी प्रदेशमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १० र वडा नम्बर १५ का ४० वर्षीय दुई पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरा १५ का पुरुष प्रहरी हुन् भने उनी वडा प्रहरी कार्यालय रामबजार पोखरामा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।
यसअघि आज बिहान पनि पोखराका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ८५ वर्षीय पुरुष तथा तनहुँको म्याग्दे गाउँपालिका १ का ६० वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तनहुँकै देवघाट ४ र ५ का ४२ तथा २७ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
स्याङ्जाका ८५ वर्षीय पुरुष तथा तनहुँ म्याग्देका ६० वर्षीय महिला पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् ।
त्यस्तै लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर ८ का ४६ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ६ सय ७९ पुगेको छ ।
