
पोखरा, २५ भदौ । पोखराका थप १९ जनासहित गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीवार प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ६ः४५ बजे जारी गरेको विज्ञप्ति अनुसार पोखरा महानगरपालिकामा १९ सहित प्रदेशमा थप ४९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १५ का १ जना, ३२ का १ जना, २५ का १ जना, ८ का १३, ५ का २ जना र १९ का १ जना गरी १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनादविन्दु शर्माले जानकारी दिए । पोखराका संक्रमितमध्ये ९ महिला तथा १० जना पुरुष रहेका छन् ।
यसैगरी संक्रमित हुनेहरुमा बागलुङका ९ जना रहेका छन् । उनीहरु २० वर्षदेखि ५९ वर्षका रहेका छन् ।
त्यस्तै तनहुँ भिमाद १ का ३ जना पुरुष रहेका छन् । त्यस्तै पर्वतका १ जना, स्याङ्जाका १२ जना रहेका छन् । यसैगरी नवलपरासी (ब.सु.पू.)का ५ जना रहेका छन् । नवलपरासू (ब.सु.पू.) कावासोतीका २ वर्षीय बालकसहित ३४, ३५ र ३६ वर्षीया ३ महिला गरी ४ जना र देवचुली १६ का ४ वर्षीय बालक रहेको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।
आज संक्रमित पुष्टि भएकामध्ये पोखरा महानगरपालिका–१५ का २३ वर्षीया महिला पश्चिमञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफनर्स हुन् भने वडा नम्बर ३२ का ५० वर्षीय पुरुष सोही अस्पतालमा उपचाररत व्यक्ति हुन् । त्यस्तै पोखरा १९ का २२ वर्षीय युवक र पर्वतका २८ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत व्यक्ति भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी बागलुङ जैमनीका ५१ वर्षीया महिला पोखरास्थित फेवासिटी अस्पतालमा उपचाररत हुन् भने अन्य सबै विदेशबाट आई क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भएको निर्देशनालयले जनाएको छ ।
अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान पहिचान भएको र आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

