
पोखरा । गण्डकी प्रदेशमा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या २८ सय ५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणअनुसार चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा तनहुँको आँखुबैरेनी ३ का १ पुरुष तथा भिमाद ६ का २० वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै नवलपुरका थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको कावासोती ३ का १ महिला र १ पुरुष रहेका छन् । त्यस्तै देवचुली ३ तथा ११ का १/१ जना पुरुष र गैंडाकोटका १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै गोरखाका ३ जनालाई कोरोना पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका ६, अजिरकोट २ तथा भीमसेन थापा ३ का १र१ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गण्डकी प्रदेशमा कोरोना निको भई घर फर्किनेको संख्या १८ सय ४९ पुगेको निर्देशनालयले जनाएको छ । सबैभन्दा धेरै निको हुने नवलपुरका रहेका छन् । नवलपुरमा हालसम्म ५५ महिला र ३४५ जना पुरुष गरी ४ सय जना निको भएका छन । त्यस्तै नवलपुरपछि धेरै निको हुनेमा स्याङ्जा रहेको छ । स्याङ्जामा हालसम्म निको हुनेको संख्या ४३ महिला र २६५ जना पुरुष गरी ३ सय ८ जना छन् । तेस्रो स्थानमा रहेको बागलुङमा ३३ जना महिला र २४८ जना पुरुष गरी २८१ जना रहेको निर्देशनालयले जनाएको छ ।