
पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशका थप ३ जनाको मृत्यु भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३ जनाकै मृत्यु काठमाडौंका विभिन्न अस्पतालमा भएको हो । शनिवारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले प्रदेशका ३ जनाको मृत्यु भएको बताएका थिए । कोरोना संक्रमितको मृत्यु जहाँ भए पनि स्वास्थ्य मन्त्रालयले रेकर्ड राख्दा जुन प्रदेशको ठेगाना हो त्यही अनुसार राख्ने गरेको छ ।
निर्देशनालयका अनुसार तनहुँको आबुखैरेनी गाउँपालिका ४ निवासी ७६ वर्षीया महिलाको मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा भदौ २४ गते मृत्यु भएको हो । उनलाई मुटुसम्बन्धी समस्या थियो ।
यसैगरी गोरखाको भीमसेन थापा ३ का ४५ वर्षे पुरुषको पनि टिचिङ अस्पतालमा भदौ २७ गते मृत्यु भएको हो । भदौ २३ गते कोरोना पुष्टि भएका उनमा मृगौलासम्बन्धी समस्या थियो ।
कास्कीको मादी ४ घर भई काठमाडौं नयाँबजार बस्ने ५१ वर्षे पुरुषको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदौ २७ गते निधन भएको छ । भदौ २४ गते कोरोना पुष्टि भएका उनलाई क्यान्सर र हाइपोथाइरािजमको समस्या थियो ।