थप १०३९ जनामा कोरोना संक्रमण, ११७३ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित


पोखरा, २८ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म होम आइसोलेसनमा ७ हजार ३ सय ८७ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३० जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १५ हजार १ सय १७ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ८ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी आइतबारसम्म क्वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय ७३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ३८ हजार ६ सय ९७ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।



Tags: