
पोखरा, २९ भदौ । पोखराका १७ जनासहित गण्डकी प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार बिहान जारी गरेको विज्ञप्तिअनुसार पोखरा महानगरपालिकाका १७ जना र बागलुङ बडिगाडका २ जनामा गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार कन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका ४ र १७ का ७ जना नेपाल प्रहरीका हुन् । त्यस्तै पोखरा महानगरपालिका ८ का २१ वर्षीया युवती पोखरा महानगर अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् । यस्तै पोखरा महानगर ३३ का २३ वर्षे पुरुष, १४ का ३६ वर्षीय, १७ का २७ वर्षीय पुरुषहरु भारतबाट र ७ का ४४ वर्षीय पुरुष जापानबाट आइ क्वारेन्टाइनमा बसेकाहरु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
त्यस्तै बागलुङ बडिगाड १ र ५ का २२ र ६० वर्षीय दुवैजना पुरुषहरु विदेशबाट आएकाहरु भएको निर्देशक शर्माले जनाए । अन्य संक्रमण पुष्टि भएका सबैजना कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । नवलपरासी (ब.सु.पू.) मध्यविन्दु १२ का ६० वर्षीय पुरुषको भदौ २६ गते लुम्बिनी अस्पताल रुपन्देहीमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
मृतक ती पुरुषमा निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको निर्देशनालयले जनाएको छ ।
