
पोखरा, ३१ भदौ । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ४ जिल्लाका ५० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार बिहानै जारी गरेको विज्ञप्तिअनुसार कास्कीमा २९, तनहुँमा ५, बागलुङमा ३ र गोरखामा १३ जना थपिएका हुन् ।
आज संक्रमण पुष्टि भएको पोखरा ४ का ८ जना नेपाल प्रहरीका हुन् । त्यस्तै वडा नं. १ का २५ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् भने पोखरा महानगर १५ का ४० वर्षका २ जना, २७ का २८ वर्षीय पुरुष, ६ का २१ वर्षीय युवक गरी ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यस्तै तनहुँ घिरिङका ३ जना पुरुष र बागलुङ गलकोट ३ र बागलुङ १ का ३७ र ४६ वर्षीय २ पुरुषहरु पनि भारतबाट आइ क्वारेन्टाइनमा बसेका हुन् भने अन्य सबै कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ ।



