
पोखरा, ३१ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा ७ हजार ७ सय १ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार २ सय ४२ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा ७ हजार ८ सय २० जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ६८ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४१ हजार ७ सय ६ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ८ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।