
पोखरा, १ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीबारसम्म होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार २ सय ४१ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बिहीबारसम्म क्वारेन्टाइनमा ७ हजार ८ सय ८३ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार २ सय ४३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४२ हजार ९ सय ४९ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

