भारतमा कोरोना संक्रमणको नयाँ रेकर्डः २४ घण्टामा ९७ हजार ८९४ संक्रमित थपिए

-


     मर्दी न्युज    
     असाेज २ गते २०७७ मा प्रकाशित


तस्विरः एजेन्सी

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ८९४ संक्रमित थपिएका छन् । भारतमा एकै दिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि पाँच दिन अगाडि ९७ हजार ५७० संक्रमित भेटिएका थिए ।

भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५१ लाख १८ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

तथ्यांक अनुसार भारतमा ८३ हजार १९८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १३२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएपछि भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।



Tags: