गण्डकी प्रदेशमा फेरि ३३ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     असाेज ९ गते २०७७ मा प्रकाशित


पोखरा, ९ असोज । गण्डकी प्रदेशमा फेरि थप ३३ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका ३३ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ११ जना, लमजुङका १ जना, गोरखाका १२ जना र नवलपरासी (ब.सु.पू.)का ९ जना गरी ३३ जना रहेका छन् ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ । तीमध्ये २४ सय ५९ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भइसकेको छ ।

आज संक्रमण पुष्टिभएका पोखरा महानगरपालिका–१७ का २४ वर्षीय पुरुष पोखरास्थित भाटभटेनी सुपरमार्केटमा कार्यरत कर्मचारी हुन् । गण्डकी मेडिकल कलेजबाट स्वाब संकलन भएको उनमा कोरोना पुष्टि भएको हो । त्यस्तै पोखरा महानगरपालिका वार्ड नं ३० र २९ का २१ र ४९ वर्षका पुरुष र लमजुङ जिल्ला, राईनासका २१ वर्षीय पुरुष गरि ३ जना भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै आज संक्रमितमध्ये गोरखा भीमसेन–३ का २४ र ३३ वर्षका पुरुषहरु सोहि पालिकाका क्रमशः मोटरसाइकल वर्कशप र पुनर्निर्माण परियोजनामा कार्यरतहरु भएको निर्देशनालयले जनाएको छ । अन्य बाँकी सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।



Tags: