
सञ्जय था श्रेष्ठ
कोभिड–१९ पछिको सन्त्रासले विश्वका विभिन्न स्थानहरु सुनसान छन र चरा अवलोकनकर्ता, संरक्षणकर्मी तथा वाइल्डलाइफ फोटोग्राफरहरु फुर्सदिला बनेका छन् । जसले गर्दा शहरी क्षेत्र आसपासका नदीनाला, पोखरी, खोलाहरुमा चराको खोजीमा बढि निस्किएका छन् संरक्षणकर्मीहरु । जसको नतिजा पछिल्लो समयमा धेरै स्थानहरुमा फिरन्ते, बटुवा तथा आगन्तुक चराहरुको अभिलेख भइरहेको छ ।

यसै सन्दर्भमा आज असोज ९ गते काठमाण्डौ उपत्यकाको मनोहरा खोलामा पंछी अवलोकनका क्रममा ३८ वर्षपछि अति संकटापन्न (नेपालमा) आँसीटुँडे (Eurasian Curlew) र अलकचन्द्र राजपुत्रिका (Kentish Plover) २३ वर्षपछि दोस्रोपटक (उपत्यकामा) अभिलेख भएका छन् (नेपाली, १९८२ तथा रोजयर र टेलर, १९९७) ।
पेशाले पर्यटन ब्यबसायी, सेवानिवृत्त सेना, पंछीबिद तथा बिद्यार्थी र वाइल्डलाइफ फोटोग्राफरको टिम सञ्जय था श्रेष्ठ, चुङ्बा शेर्पा, उत्सवजंग थापा, गोपी श्रेष्ठ, उमङजंग थापा, पेम्बा शेर्पा, युविन श्रेष्ठ, प्रेमकृष्ण खम्बुको टोलीले उक्त दुई प्रजाति भेटेका हुन्।

उपत्यकामा मात्र नभई कर्णाली प्रदेशको निकै टाढाको जिल्ला दैलेखमा समेत विरल बटुवा सानो आँसीठुडें (Whimbrel) को प्रदेशमै पहिलोपल्ट अभिलेख गरिएको छ । डिभिजन वन कार्यालय दैलेखको अगुवाइमा उक्त प्रजाति लोहोरे खोलाबाट १ किलोमिटर पर कालीभैरव विद्यालय क्षेत्रबाट यहि असोज ४ गते उद्धार गरेका थिए । डिभिजन वन अधिकृत मुनबहादुर रावत, अधिकृत सोनिया शर्मा र फरेस्टर जनक चौधरी र जिल्ला पशु कार्यालय, दैलेखको प्राविधिक सहयोगमा उक्त पंछीको उपचार भईरहेको छ ।

त्यसैगरि कालीगण्डकी नदी भन्दा पश्चिम क्षेत्रमा अभिलेख नगररिएको नीलोपंखे तोरीगॉंडा (Blue-winged Laughingthrush) पोखरा उपत्यकामा हिजो असोज ८ गते मिलन बरालले आफ्नै निबासमा भेटेका छन् । जुन पोखरा उपत्यकाकै तेस्रो अभिलेख हो (केसी एच, २०११ र राईजन आर भि, २०१५) ।
स्मरणीय छ यी प्रजातीहरु सँगै पछिल्लो समयमा चितवन, कोशी लगाएतका स्थानहरूमा करिब दुई दर्जन प्रजातिहरू अभिलेख गरिएको छ र अनियमित पनि छन् ।


