पोखराका १० सहित गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     असाेज १० गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले शनिवार दिउँसो १ बजे जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका चार जिल्लाका १५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

कास्कीको पोखरा महानगरपालिकामा १० जना, तनहुँमा दुई जना, मनाङमा एक जना र लमजुङमा दुई जना गरी १५ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए ।

उनका अनुसार पोखरा महानगरपालिका ४ का ४५ र ४७ वर्षीय पुरुषहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत हुन् ।

त्यस्तै पोखरा ६ का २६ वर्षीया महिला राष्ट्रिय बाणिज्य बैंक गैंडाकोट नवलपरासी शाखामा कार्यरत छिन् भने पोखरा १० का ४७ वर्षीय पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ ।

यस्तै मनाङ जिल्ला चामेका ३१ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत हुन् । अन्य बाँकी संक्रमित भने कन्ट्याक ट्रेसिङका आधारमा पहिचान गरिएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ६० पुगेको छ ।



Tags: