
पोखरा । गण्डकी प्रदेशमा फेरि थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरामा थप ७ जनासहित गण्डकी प्रदेशका १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य निर्देशनालयमा कार्यरत ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा निर्देशनालयमा कार्यरत ५३ तथा ५७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ भने सोही अन्तर्गत डब्लुएचओ आइपिडीमा कार्यरत ४९ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यस्तै पोखरा ७ का २२ वर्षीय पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ । उनी नेपाल प्रहरीमा कार्यरत रहेका छन् । यस्तै पोखरा १० का १९ र ४४ वर्षीया महिला सहित २१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
यस अगाडि पोखरामा जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत २ जना प्रहरी सहित १० जनालाई संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै प्रदेशका अन्य जिल्लामा तनहुँका ३ जना र लमजुङका ३ जनालाई पनि संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६ सय ७३ पुगेको छ ।

