
पोखरा, १४ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार ३ सय ४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा १० हजार ८ सय ४ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ८७ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २० हजार ८ सय ९१ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १० लाख २१ हजार ५ सय ३ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा ५ हजार ४ सय २८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ५७ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ५६ हजार ४ सय २८ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ७ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

