थप १९११ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ५०९ पुग्यो

-


     मर्दी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


पोखरा, १५ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीबारसम्म होम आइसोलेसनमा ११ हजार ६९ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ७ सय ६१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २१ हजार ८ सय ३० जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी बिहीबारसम्म क्वारेन्टाइनमा ५ हजार ७७ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ९ सय ६१ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ५७ हजार ३ सय ८९ रहेको प्रवक्ता डा गौतमले बताए ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।



Tags: